Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

एक महिनामा साढे ४ हजार मुद्दा दर्ता

१० सोमबार , चैत्र २०८११७ दिन अगाडि

एक महिनामा साढे ४ हजार मुद्दा दर्ता

एक महिनाको अन्तरालमा झन्डै साढे ४ हजार आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुन महिनामा मात्रै देशभर विविध आपराधिक घटनाका ४ हजार ४ सय ६८ मुद्दा दर्ता भएको हो । दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका १ हजार १ सय २७ (२५.२२%) मुद्दा छ भने सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ५ सय २१ अपराधका मुद्दा दर्ता भएका छन् ।

त्यसैगरी फागुन महिनामा आत्महत्यासम्बन्धी अपराधका ५ सय १, लागुऔषधसम्बन्धी ४ सय १९, चोरीका २ सय ८६, जबर्जस्ती करणीका १ सय ६८, ठगीसम्बन्धी १ सय ६२, सवारी ज्यान मुद्दा १ सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएको बताइएको छ । बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै रहेको छ भने पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको पनि प्रवक्ता आचार्यको भनाई रहेको छ ।

फागुन महिनामा काठमाडौँ उपत्यकामा १ हजार ३ सय ३७ मुद्दा दर्ता भएको छ भने मधेस प्रदेशमा ७ सय १५, कोशी प्रदेशमा ६ सय ६५, लुम्बिनी प्रदेशमा ६ सय १२, बागमतीमा ३ सय ७६, सुदुरपश्चिममा २ सय ७९, गण्डकी प्रदेशमा ३ सय २३ र कर्णाली प्रदेशमा १ सय ६१ आपराधिक घटनाका मुद्दा दर्ता भएको बताइएको छ ।