Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नगरपालिकाद्वारा अनाधिकृत व्यक्ति तथा समूहबाट जोगिन आग्रह

०४ मंगलबार , चैत्र २०८१एक बर्ष अगाडि

नगरपालिकाद्वारा अनाधिकृत व्यक्ति तथा समूहबाट जोगिन आग्रह

भक्तपुरको सूर्यविनायक नगरपालिकाले अनाधिकृत व्यक्ति तथा समूहलाई फोहोरमैलाको कार्ड नवीकरण गर्न नदिन आग्रह गरेको छ । फोहोरमैलाको कार्ड नवीकरण गरिदिने नाममा ठगी गर्ने क्रम बढेपछि नगरपालिकाले सार्वजनिक सूचना निकालेर त्यस्ता व्यक्ति तथा समूहबाट जोगिन सतर्क गराएको हो ।

नगर क्षेत्रभित्र उत्पन्न हुने फोहोरमैला नगरपालिका र निजी क्षेत्रको सहकार्यमा नेप्सेम्याक प्रालिबाट व्यवस्थापन हुँदै आइरहेको छ । तर, पछिल्लो समय नेप्सेप्याक र नगरपालिकाबाट खटाइएको कर्मचारी बताउँदै फोहोरमैलाको कार्ड नवीकरण गरिदिने नाममा ठगी गर्ने गरेको गुनासो आएको नगरपालिकाले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘हाल केही महिनायता हामी नेप्सेम्याक प्रालिको कर्मचारी हौं, नगरपालिकाबाट खटाइएका कर्मचारी हौं भनी तपाईंहरुको फोहोरमैलाको कार्ड दिनुहोस्, हामी नवीकरण गरी दिन्छौं भनी अनाधिकृत व्यक्तिहरुबाट रकम उठाई कार्डसमेत बेपत्ता पारेको भन्ने गुनासो आएकोले सो सम्बन्धमा यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विगतका वर्षझैं यो वर्ष पनि तोकेकै दररेटअनुसार सेवा उपलब्ध गराउने सहमति भएको जनाउँदै नगरपालिकाले गैरकानूनी रुपमा रकम उठाउने नियतले कोही व्यक्ति वा समूह आएमा नगरपालिका, वडा कार्यालय र सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।