जनताको वास छैन जनताको बास छैन, सांसदहरुले पेन्सन माग गर्न थालेका छन्। राजनीति अव जागीर बन्न थाल्यो। जागीरदारले मात्र निश्चित समय काम गरेपछि पेन्सन पाउने कानुनी प्रचलन छ। कानुन बनाउने राजनीतिकर्मीहरुले नै पेन्सन चाहियो भनेपछि कुरै सकियो। नेताहरु मुनाफाखोर तिल्के मारवाडी बनेछन्।
जेट १५ गते बजेट ल्याउने तैयारी गरिरहेको छ ओली सरकारले। यही बजेटमा सांसदलाई पेन्सनको व्यवस्था हुनुपर्छ भनेर कांग्रेसका सांसद प्रेमकिशोर प्रसाद साहले माग गरेपछि यो मागमा सबै ठूलासाना दलले टेबुल ठटाएर समर्थन जनाए। यी सांसदको प्रश्न थियो– जीवनभर राजनीति गरेपछि बुद्धअवथामा कमाईको बाटो केही हुन्न, के खाने?
राजनीतिकर्मीजति धनी र भ्रष्टाचारी नेपालमा अरु बर्ग छैन। यिनले कमिशन एजेन्ट अथवा उद्याम, व्यापार गर्नेलाई समेत उछिनीसकेका छन्। नेपालमा सबैभन्दा गरिव जनता र सबैभन्दा धनी नेता तथा पार्टी छन् भनेर भर्खर भर्खर समाचारहरु सार्वजनिक भएका छन्। तैपनि शोषक र सामन्त बनेका नेताहरु अव पेन्सनसमेत खाने दाउमा छन्।
भूकम्पले धनजन ध्वस्त हुँदा जनताले त्रिपाल पाएनन्। त्रिपालमा समेत कर्मचारी र नेताले भ्रष्टाचार गरे। जनताका लागि विदेशीले दिएको राहतमा समेत यिनैले दाँत गाडे। वर्षदिनसम्म पनि विपतमा परेका जनताले केही पाएनन्। आँधीहुरी आयो, पुषमाघे ठण्डीले सतायो, जनता मरिरहे, नेताहरुले राष्ट्रिय ढुकुटी लुटिरहे। संघारमै आइसक्यो वर्षाको मौसम। वर्षाले पनि पिर्ने जनतालाई हो, मने आमनागरिक नै हुन्। आमनागरिकका लागि राज्यले राम्रो गरोस् भनेर चिन्ता लिनुपर्ने नेताहरु आफ्नै लागि पेन्सन खोजिरहेछन्।