
जुम्लाको सिञ्जा गाउँपालिकामा सञ्चालित नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविरबाट २७३ जना लाभान्वित भएका छन् । सिञ्जा गाउँपालिकाको वडा नम्बर २ को विष्टवाडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
बुधबार फागुन २८ गते जनस्वास्थ्य कार्यालयको सहयोगमा प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको समन्वय तया गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ । उक्त शिविरमा नसर्ने रोगसम्बन्धी उच्च रक्तचाप, मधुमेह र महिलाको पाठेघरको क्यान्सरको जाँच गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ११ महिला र ६२ पुरुषको स्वास्थ्य जाँच गरिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले जनाएका छन् । उक्त स्वास्थ्य शिविरबाट पाठेघरसम्बन्धी समस्या भएका २६ महिलालाई थप उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिफारिस गरिएको पनि संयोजक रोकायाले जानकारी दिएका छन् ।