
सोलुखुम्बु जिल्लामा भाइरल सङ्क्रमणको प्रकोप उच्च देखिएको छ । केहिदिनदेखि जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढेसंगै भाइरल सङ्क्रमणको प्रकोप उच्च देखिएको हो ।
हिमाली जिल्लाको रुपमा परिचित सोलुखुम्बुमा भाइरल सङ्क्रमणका बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भाइरल सङ्क्रमणको बिरामीको चाप बढेसंगै जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको बताइएको छ ।
पन्ध्र शय्या क्षमताको उक्त जिल्ला अस्पतालमा दैनिक एक दर्जनभन्दा बढी भाइरल सङ्क्रमणका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अनुसार अहिले अस्पतालका सबै बेड भरिएको र सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका बताइएको छ । हाल अस्पतालमा भाइरल सङ्क्रमण बिरामी धेरै रहेको र जनशक्ति कम भएका कारण उपचारमा समेत समस्या भइरहेको छ ।