
होली, फागु । यो रङ्गको पर्वमा सबैमा हार्दिक शुभकामना ।
यो प्रेम र उत्साहको पर्व । काला सपना रंगीन हुन् । जो जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले प्रेम जगाओस्, उत्साह छाओस् ।
राजधानीको बसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक शुरुवात हुनेगर्छ । होली, फागु पर्व भनेको असत्यमाथि सत्यको जीत भएको सूचकको रुपमा मानिन्छ ।
मान्यता अनुसार त्रेतायुगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेर्ने गरिन्छ। आफ्नै पुत्र प्रल्हाद भगवान विष्णुको भक्त भएकोमा दैत्यराज क्रोधित भएका थिए । दैैैत्य हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका भष्म भइन्, यही असत्यको हार र सत्यको जीतको रुपमा फागु पर्व मनाउने गरिएको हो ।
रंगहरुको बर्णनका क्रममा लेखकले लेखेका छन्– नीलो रङ्गले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रङ्ग भगवान श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला शौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज ब्यापक गरिन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछाँयामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ ।
भातृत्व र सदाचार बढाउने यो पर्वमा केही उत्ताउला केटाकेटीहरुले असामान्य व्यवहार देखाउने गरेका छन् । मादक पदार्थको अति प्रयोगले दुःखद घटना पनि घट्ने गरेका छन् । यसतिर सुरक्षा निकायको ध्यान जानुपर्छ । फागु मनाउनेहरुले पनि मैत्री भाव बढाउने गरी मनाउनु पर्छ ।