
नेपालमा चालु आर्थिक वर्षको सात महिनामा ६ अर्ब बढीको लसुन आयात गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ६ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको लसुन आयात गरिएको हो ।
सात महिनाको अवधिमा उक्त मूल्य बराबरको ४ करोड ७५ लाख ६१ हजार किलो सुकेको लसुन आयात हुनु अकल्पनीय र अस्वाभाविक भएको र कुनै कारणले आयात भएको होकि भन्ने आशङ्का उब्जिएको बताइएको छ । यता भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयातको रूपमा हाइलाइट गरेको छ ।
पाँच वर्षअघि आव २०७६/७७ मा मात्र ३१ करोड रुपियाँको लसुन आयात भएकोमा चालु वर्षको पहिलो सात महिनामा ६ अर्ब २६ करोड रुपियाँ बराबरको लसुन आयात हुनु अस्वाभाविक भएकाले सरकारी निकायहरूले यसको आन्तरिक खपतको विश्लेषण गर्दै अनुसन्धान सुरु गरेका छन् ।
सोहि अवधिमा नेपालले ९ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात गरेको भएपनि बाँकी रहेको लसुन कहीं भण्डारण गरिएको नदेखिएकाले आशंका उत्पन्न भएको हो । हाल नेपालमा चाउचाउ र अचार उद्योगले लसुनको ठूलो मात्रामा प्रयोग गर्दै आएको छन् ।
नेपाल दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था (साफ्टा)को सदस्य राष्ट्र भएकाले विभिन्न देशबाट आयात भएको लसुन सहजै भारत निर्यात हुने सम्भावना छ । सरकारी निकायहरूले यसै कारणले नेपालको बाटो हुँदै चीनको लसुन भारत पुग्ने अनुमान गरेका बताइएको छ ।