
ताप्लेजुङकाे पाथीभरामा केबलकार निर्माणकाे विषयलाई लिएर भएकाे विवादसँगै ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएकाे छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले केबलकार निर्माणको विषयलाई लिएर बढ्दो तनावका कारण अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाे ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर पछिल्लो एक महिनादेखि निर्माण समर्थक र विरोधी समूहहरूबीचको विवाद चर्किएकाे छ । त्यस क्षेत्रमा विवाद तीव्र बन्दै गएपछि प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) अनुसार निषेधाज्ञा जारी गरेकाे बताइएकाे छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको आदेशअनुसार २०८१ फागुन ११ गते बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू रहने बताइएकाे छ । निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न नपाइने आदेशमा उल्लेख गरिएकाे छ ।
प्रशासनले शान्ति सुरक्षालाई कायम राख्न तथा कुनै अप्रिय घटना हुन नदिन सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै निषेधाज्ञाको उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ । सदरमुकाम फुङलिङ, काफ्लेपाटीदेखि बलुडाँडा र केबलकार स्टेशन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।