
चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज भन्सार कार्यालयले ९४ अर्ब ५२ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले संकलन गरेको राजस्व गत आर्थिक वर्षको सोही अवधिमा संकलित रकम भन्दा ७ अर्ब ९५ करोडले बढी हो । उक्त कार्यालयले उक्त अवधिमा १ खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन बढेको कार्यालयका सूचना अधिकारी अमित तिवारीले जनाएका छन् । तिवारीका अनुसार दुई महिनायता राजस्व असुलीमा वृद्धि भएको बताइएको छ ।
गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो भने कार्यालयलाई सरकारले चालु आर्थिक वर्षमा २ खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न निर्देशन दिएको छ ।