
गत माघ २२ गतेदेखि सरकारले सञ्चलन गरेकाे एचपिभी खोप अभियान अन्तर्गत झण्डै ९२ प्रतिशत किशोरीहरूले उक्त खाेप लगाएका छन् । पाठेघरको मुखको क्यान्सरविरूद्धको उक्त एचपिभी खोप झण्डै ९२ प्रतिशत किशोरीहरूले लगाएका हुन् ।
सरकारले माघ २२ गतेदेखि सुरू गरि फागुन ३ गतेसम्म सञ्चालन गरेको उक्त खोप अभियानमा ९२ किशोरीले खोप लगाइसकेकाे स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले जनाएका छन् ।
उनका अनुसार अभियानमा १६ लाख ८८ हजार ७ सय ८६ किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएकोमा १४ लाख २८ हजार ८ सय ८९ किशोरीहरूले खोप लगाएका थिए । साथै, अभियानमा छुटेका किशोरीहरूलाई स्वास्थ्य संस्थामा खाेप लगाइनेसमेत जानकारी दिएका छन् ।
डा.गौतमले अभियानमा छुटेका किशोरीहरूलाई समुदायमा गएर खोजेर भएपनि खोप लगाइने बताएका छन् । त्यस्तै हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएकाले खोप अभियान सुरू नगरिएको र विद्यालय सुरू हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान सञ्चालन गर्ने समेत डा.गौतमले बताए ।
किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि सरकारले कक्षा ६ देखि १० सम्मका विद्यार्थी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूका लागि खोप अभियान सञ्चालन गरेको थियो । सरकारी तथ्याङ्क अनुसार हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट नेपालमा ४ जना महिलाको मृत्यु हुने गरेको बताइएकाे छ ।