
फागुन १ गतेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरि समयमै उपचार गर्न एक महिने परीक्षण अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत रोगहरूको प्रारम्भिक पहिचान गरी समयमै रोकथाम गर्ने उद्देश्यका साथ् अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नागरिकलाई रोगको दुष्चक्रबाट बचाउन र निरोधात्मक विधिलाई सुदृढ गर्न स्वास्थ्य परीक्षण र सचेतनामार्फत रोग लाग्न नदिने यदि रोग लागिहालेमा समयमै उपचार उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा ३० वर्षभन्दा माथिका नागरिकको संख्या करिब १ करोड ४० लाख ९० हजार रहेको र सो उमेर समूहका नागरिकलाई लक्षित गर्दै मन्त्रालयले मधुमेह, उच्च रक्तचाप, मृगौलासम्बन्धी समस्या, तथा शरीरको उचाइ र तौलको अनुपात (BMI) परीक्षण गर्ने योजना अघि सारेको छ । साथै मन्त्रालयले उक्त सेवा देशभरका स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क रुपमा प्रदान गर्ने बताइएको छ ।
उक्त सेवा फागुन महिनाभर ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा आवश्यक परीक्षण गरिने छ । सरकारले रोगहरूको प्रारम्भिक पहिचानलाई सशक्त बनाउन यस्तो अभियानलाई नियमित रुपमा सञ्चालन गर्ने योजना रहेको पनि मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जनाएका छन् ।