
काठमाडौं महानगरपालिकाले वडा नम्बर ५, हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी (वान–वे) बनाएको छ । यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भन्दै महानगरले उक्त क्षेत्रका सात वटा सडकलाई एकतर्फी बनाएको हो ।
महानगरको सहरी व्यवस्थापन विभागले एक सूचना जारी गर्दै आउँदो फागुन ७ गतेबाट लागू हुने गरी ती सडकमा एकतर्फबाट मात्र सवारीसाधन सञ्चालन गर्न पाइने जानकारी गराएको छ ।
सूचनामा उल्लेख छ, ‘यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ५ हाँडीगाउँअन्तर्गत तपसिलका सडकमा एकतर्फी (वान–वे) सवारीसाधन सञ्चालन गर्नुपर्ने भएकोले महानगरको भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको निर्णयानुसार मिति २०८१ फागुन ७ गतेबाट लागू हुने सडकमा एक तर्फबाट मात्र सवारी साधन सञ्चालन हुने व्यवस्था गरिने भएकोले सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
विभागका अनुसार अब वडा नम्बर ६, अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग हुँदै हाँडीगाउँतर्फ प्रवेश गर्न पाइनेछ । त्यस्तै, विशालनगर हुँदै आउने सवारीलाई भीमसेन मार्ग भई ५ नम्बर वडा कार्यालयतर्फ जान निषेध गरी हात्ती महाङ्कालतर्फ मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ ।
हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरिँदै सो सडक भई गुड्ने सवारीलाई थटु मार्ग पठाउने र नक्साल भाटभटेनी भएर आउने गाडी वडा नम्बर ५ को कार्यालयबाट थटु मार्गतर्फ निषेध गरी भीमसेन मार्गतर्फ जान पाउने विभागको भनाइ छ ।
विभागले ढुङ्गेधाराबाट हात्ती महाङ्काल, वडा नम्बर ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ पनि सवारीसाधन प्रवेश निषेध गरेको छ । यस्तै, बालमन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।