
मुलुकको प्रशासकीय केन्द्र सिंहदरबार परिसरभित्र ‘सटल सर्भिस’ शुरु गरिने भएको छ । काम विशेषले सिंहदरबार पुग्ने सेवाग्राहीको सहजताका निम्ति सटल सर्भिस शुरु गर्न लागिएको हो । त्यसका लागि गृह मन्त्रालयले दुई थान विद्युतीय गाडी खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर क्याटलग सपिङ्ग विधिबाट सवारीसाधन खरिद प्रक्रिया आह्वान गरेको छ ।
इच्छुक इजाजत प्राप्त उत्पादक वा अधिकृत बिक्रेतालाई आगामी दश दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न भनिएको छ । उत्पादकको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर, मूल्य र सुविधासहितको विवरण (क्याटलग वा ब्रोसर) राखर शिलबन्दी प्रस्ताव मन्त्रालयमा दर्ता गर्नुपर्ने छ ।
सिंहदरबार परिसर निकै ठूलो भएकाले काम विशेषले त्यहाँ जाने आम सर्वसाधारणलाई मन्त्रालय र कार्यालयसम्म पुग्न गाह्रोसँगै कतिपयलाई बाटोसमेत थाहा नहुँदा समस्या हुने गरेको छ । सरकारले यो सेवा शुरु गरेपछि सिंहदरबारभित्र प्रवेश गर्ने गेटपास भएका सेवाग्राहीले निःशुल्क गाडी सुविधा पाउनेछन् ।