Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज सरस्वतीको पूजा आराधनासहित वसन्त पञ्चमी मनाइँदै

२१ सोमबार , माघ २०८१एक बर्ष अगाडि

आज सरस्वतीको पूजा आराधनासहित वसन्त पञ्चमी मनाइँदै

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व यसवर्ष पनि विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । काटमाडाैँकाे हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवण सहित सरस्वतीको पूजा आराधना गरि याे पर्व मनाउन लागिएकाे हाे ।

यस पर्वकाे अवसरमा देशभरका सरस्वतीका शक्ती पिठहरूमा पूजा आराधनासहित धुमधामका साथ मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ बजेर ५५ मिनेटमा  हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ भने उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने बताइएकाे छ ।

त्यस्तै उक्त वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने जनाइएकाे छ ।

सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्दछन । यसै दिनदेखि सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने जन विश्वास समेत रहेकाे छ । त्यसैगरि आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता समेत रहेकाे छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।