Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मेयर साम्पाङलाई कारबाही गर्न महासंघकाे माग

१५ मंगलबार , माघ २०८१एक बर्ष अगाडि

मेयर साम्पाङलाई कारबाही गर्न महासंघकाे माग

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघले गृह मन्त्रालय गुहारेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा सिंहदरबार पुगेको प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो ।  

पत्रमा मेयर साम्पाङसहित प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । समाचार लेखेकै कारण पत्रकारलाई गालीगलौजसहित ज्यान मार्ने धम्की समेत दिने गरिएको बताउँदै महासंघले यस्ता घटनालाई गम्भीर रुपमा लिन ध्यानाकर्षण गराएको छ ।

धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै निहुँमा मेयर साम्पाङले गालीगलौज, धम्की दिएको तर राज्यले कुनै कारबाही नगर्नाले प्रेस स्वतन्त्रताको दृष्टिकोणमै प्रश्न उठिरहेको पनि महासंघले औंल्याएको छ । ‘अतः महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औंल्याएका जो कोहीलाई तत्काल कानूनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन महासंघ माननीय गृहमन्त्रीसमक्ष अनुरोध गर्दछ,’ पत्रमा भनिएको छ ।

महासंघका अनुसार प्रतिवेदनमा मेयर साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ । साम्पाङले नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै शुरु गरेको श्रमदान अभियानलाई सकारात्मक मान्न सकिएपनि धरानको विकासको लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुशी निकासा गरेको भन्दै दाहालले समाचार लेखेका थिए ।

महासंघले सो समाचारको विषय मात्र नभई स्थानीय सरकारको आर्थिक पारदर्शीतामाथि समेत गम्भीर प्रश्न उठेको उल्लेख गर्दै यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने माग गरेको छ । ध्यानाकर्षण पत्र बुझेपश्चात् गृहमन्त्री लेखकले महासंघको मागप्रति गम्भीर हुँदै प्रेस स्वतन्त्रता हननमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।