Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

टिचिङ हस्पिटलमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन

०८ मंगलबार , माघ २०८१एक दिन अगाडि

टिचिङ हस्पिटलमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन

काठमाडौंको महाराजगञ्जस्थित टिचिङ हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण यसअघि २०८१ भदौ १२ गतेदेखि आंशिक रूपमा स्थगित गरिएको उक्त सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो । पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प रहेको थियो ।

यसअघि त्रिवि शिक्षण अस्पतालमा २०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । देशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा पाँच महिनासम्म बीमा सेवा स्थगित हुँदा हजारौं बीमित बिरामीले समस्या भोग्नुपरेको थियो भने स्थगन अवधिमा अस्पतालले ओपीडी र आकस्मिक सेवामा मात्र बीमा सुविधा उपलब्ध गराउँदै आएको थियो ।

बोर्डबाट अझै करिब ७० करोड रुपैयाँ प्राप्त गर्न बाँकी र २० करोड रुपैयाँको दाबी प्रक्रियामा रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङका अनुसार गत असारसम्मको बाँकी रकम छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै अस्पतालले जारी गरेको सूचना अनुसार अव सबै प्रकारका बीमा सेवाहरू पूर्ववत् रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ ।