सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेका छन् ।
उनिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रेम सम्बन्ध भएको समयमा खिचिएका फाेटाे तथा भिडियोहरू सम्बन्ध बिग्रिए पछि पीडितकाे आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्रहत्या गरेकाे बताइएकाे छ ।
चरित्र हत्यामा संलग्न रहेका उनिहरूलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको थियाे । अहिले श्रीकृष्ण र सरोजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।