Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

स्वस्थानी व्रत आजदेखि आरम्भ

२९ सोमबार , पौष २०८१एक बर्ष अगाडि

स्वस्थानी व्रत आजदेखि आरम्भ

नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म बस्ने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको हो ।

आजदेखि सुरु भएको स्वस्थानी व्रत नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म लिने र माघ स्नान गर्ने परम्परा रहेको छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी, स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात गरिन्छ ।

यस व्रतका लागि बिहान माघ स्नान गरी मध्याहृन कालमा महादेवको पूजा गर्ने र बेलुकी ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ । कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्ने गरेको पाइन्छ ।

त्यस्तै एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता लगायत विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।

यसरी चढाइएका प्रसादमध्ये सबैबाट ८/८ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने धार्मिक व्रत विधि रहेको पाईन्छ ।

स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने जनविश्वास समेत रहेको छ । धार्मिक किम्बदन्ती अनुसार सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौंको साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ ।