Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बीमा प्राधिकरणमा अध्यक्षका लागि दरखास्त आह्वान

२६ शुक्रबार , पौष २०८१एक बर्ष अगाडि

बीमा प्राधिकरणमा अध्यक्षका लागि दरखास्त आह्वान

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । अर्थ मन्त्रालयले आज सूचना जारी गर्दै प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा नियुक्तिका निम्ति दरखास्त आह्वान गरेको हो ।

अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको जनाउँदै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी पन्ध्र दिनभित्र आवेदन पेश गर्न भनेको छ ।

सूचनामा उम्मेदवारको न्यूनतम योग्यता बीमा ऐन, २०७९ को बमोजिम बीमा, मौद्रिक, बैंकिङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यअनुभव हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त नगरेको र फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्छ । यद्यपि, सूचनाबमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्ने पनि जनाइएको छ ।

झुटो विवरण पेश गरी राष्ट्रसेवक पदको दुरुपयोग गरेको ठहर गर्दै प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

उनले नागरिकतामा पटकपटक जन्ममिति संशोधन गरी राहदानीमा समेत जालझेल गरेको, प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्ष उमेर हदबाट अवकाश हुनुपर्नेमा ६६ वर्षमा प्रवेश गर्दासमेत राष्ट्रसेवकको लाभ, सुविधा र अधिकार प्रयोग गरेको अख्तियारको आरोप छ । आगामी माघ १९ गतेसम्म कार्यकाल रहेका सिलवालविरुद्ध मुद्दा दायर भएपछि अहिले प्राधिकरण नेतृत्वविहीन छ ।