काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा २ सय ७३ सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाएकाे छ । कार्यालयले विभिन्न समयमा हराएका उक्त सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हाे ।
काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका २ सय ७३ सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाएकाे बताउँदै ट्राफिक प्रहरीले चालु आवको हालसम्ममा चोरीका २८ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित उक्त कार्यमा संलग्न ४० जनालाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको बताइएकाे छ ।
त्यसैगरि ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा हिँजाे पुष २५ गते बिहीबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ मोटरसाइकल र ८ वटा स्कुटर गरि कुल ३३ वटा दुई पाङग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै हराएका ती सवारीसाधन काठमाडौँको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाँटार, धर्मस्थली, नयाँ बसपार्क, बौद्धलगायत स्थानबाट ट्राफिक प्रहरीले फेला पारेको बताएका थिए ।
यसअघि ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/८० मा ४ यस ९९ र आव २०८०/८१ मा ४ सय १७ दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो । सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न तथा सर्वसाधारणको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत आग्रह गरिएकाे छ ।
यदि आफ्नाे सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको हटलाइन १०० मा फोन गर्न र नजिकको प्रहरी चौकीमा निवेदन दिन सकिने समेत ट्राफिक प्रहरीले जनाएकाे छ ।