Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

घुसकाे रकम सहित अख्तियार पुगेका अधिकृतविरुद्ध मुद्दा

२५ बिहिबार , पौष २०८१२ बर्ष अगाडि

घुसकाे रकम सहित अख्तियार पुगेका अधिकृतविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा घुसकाे रकम सहित पुगेका एक प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्वप्रसाद सापकोटाउपर मुद्दा दायर भएको हो ।

गत मंसिर २८ गते कञ्चनपुरस्थित आयोगको कार्यालयमा पुगेका उनले अनुसन्धान अधिकृतको कार्यकक्षमा गई कागजातसहितको खाम दिए । अनुसन्धान अधिकृतले उक्त खाम खोल्नु भनेपछि सापकोटले बोकेको हरियो रंगको झोलाभित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटियो ।

त्यसपछि यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्धा मिलाइदिन तपाईँको लागि स्वेच्छाले ल्याएको जवाफ दिएका उनलाई लगत्तै नियन्त्रणमा लिइएको थियो । अख्तियारका अनुसार सापकोटाले अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा खरिद कार्यमा अनियमितता गरेको उजुरी परेको थियो ।

अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतले उनको बयानसमेत लिई अनुसन्धान कार्य गर्दै स्थलगत अनुगमन समेत सम्पन्न गरिसकेको अवस्थामा उनले घुस दिएर प्रभावित पार्न खोजेको अख्तियारको ठहर छ ।

‘उजुरीको विस्तृत अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतले निज प्रतिवादीको बयानसमेत लिई अनुसन्धानका कार्य गर्दै स्थलगत अनुगमन कार्य सम्पन्न गरिसकेको अवस्थामा उक्त अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई अनुसन्धान टुङ्ग्याउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न तथा अनुसन्धानलाई अनिष्ट गर्ने गराउने प्रयोजनको लागि घुस–रिसवत रु.१,००,००० दिनको लागि उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई उक्त घुस–रिसवत रकम दिँदादिँदै उसैबखत पक्राउ परेको,’ अख्तियारले भनेको छ ।

सापकोटाउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।