Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एचएमपीभी साधारण भाइरस हाे : स्वास्थ्य मन्त्रालय

२५ बिहिबार , पौष २०८१२ बर्ष अगाडि

एचएमपीभी साधारण भाइरस हाे : स्वास्थ्य मन्त्रालय

चीनमा देखा परेकाे ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै एक विज्ञप्ति मार्फत हल्लाको पछि नलाग्न आग्रह गरेको हाे ।

मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, स-साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जनाएकाे छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ ।”

एचएमपीभी साधारण भाइरस भएपनि यसबारे मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको पनि मन्त्रालयले जनाएको छ । साथै, एचएमपीभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय अपनाउन समेत मन्त्रालयले आग्रह गरेकाे छ ।

त्यसैगरि, बिरामीको नजिक/सम्पर्कमा नजाने, साबुन पानीले हात धुने र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिने र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।