Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्राधिकरणद्धारा भूकम्पमा ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त

२३ मंगलबार , पौष २०८१२ बर्ष अगाडि

प्राधिकरणद्धारा भूकम्पमा ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त

चीनको सिचाङ (तिब्बत) स्थित डिङ्गयी काउन्टी केन्द्रबिन्दु बनाएर आज बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाएका चिनियाँ नागरिकप्रति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पणसहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

‘आजको यो भूकम्पबाट तिब्बत (सिचाङ) स्वशासित क्षेत्रमा केही व्यक्तिको मृत्यु भएको र केही घाइते भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो विपद्मा परी मृत्यु भएका चिनियाँ नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

प्राधिकरणले उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति नभएको पनि जनाएको छ । यद्यपि, भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको र त्यसको प्रारम्भिक विवरण संकलन भइरहेको जनाइएको छ ।

भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन दिएको समेत प्राधिकरणले बताएको छ ।

‘सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।