चेपाङ समुदायबाट स्नातकोत्तर तह (एमएड) उत्तीर्ण गर्ने जिल्लाकै पहिलो बनेकी रमिला चेपाङ सम्मानित भएकी छन् । चेपाङ समुदायबाट गोरखा जिल्लामा स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी चेपाङ सम्मानित भएकी हुन् ।
पुष ६ गते शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनलाई सम्मान गरिएकाे हाे । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सीमान्तकृत समुदायकाे महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेकाे बतउँदै मन्त्री सिलवालले सम्मान गरेका थिए । वि.सं. २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिएकी रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेकी थिइन् भने उनि २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध रहेकी छन् ।