नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब नेपालमा लोडसेडिङ नहुने बताएका छन् । काठमाडौँमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले अब नेपालमा लोडसेडिङ नहुने बताएका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा विद्यूत आपूर्ति नहुँदा उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर नाफा कमाउन खोजेको आरोप लगाएका छन् । उनले अहिले पनि लोडसेडिङ नभएर प्राविधिक समस्यामात्र रहेको भन्दै नकारात्मकतामा रमाउने जमातले गलत हल्ला चलाएको दाबी गरेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ । नेगेटिभिटी देखाएर कसरी कसरी आफ्नो लागि कमाउने भन्ने जमात छ । अहिले उद्योगले बत्ती पाएनौँ भनेर सामानको भाउ बढाउन थालेको पनि सुनेको छु । हिजो जनतालाई २०/२२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएका हुन् । त्यो नाफाको पैसा तिर्नुपर्दैन डेडिकेटेड ट्रंकलाइनको रु अहिले प्राविधिक कारणले २/४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो । नेपालमा लोडसेडिङ हुँदैन, भएको छैन, केही समयको प्राविधिक समस्या हो ।’
कार्यक्रममा बोल्दै घिसिङले तामाकोशी आयोजना बाढीले बिगारेको कारण केही समय समस्या परेको बताउदै अब नेपालमा लोडसेडिङ नहुने बताएका हुन् ।