पुष ७ गते आईतबारदेखि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नौबिसे सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले दिनको ३ घण्टा सडक बन्द गर्न लागिएको हो ।
पुस ७ गते देखि १३ गते सम्म बिहान ११ बजेदेखि दिनको २ बजे सम्म दिनको ३ घण्टा सडक बन्द गर्न लागिएको नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ.विजय दरइले जानकारी दिएका छन् ।
बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको र पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने पनि उनको भनाई रेहेको छ । त्यस्तै चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।
यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने र मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलाटारमा रोकिने इ.दरइले जानकारी दिएका छन् । तर, उक्त समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने बताइएको छ ।