काठमाडौं महानगरपालिकाले सवारीसाधनमा प्रयोग गरिएका काम नलाग्ने ब्याट्री व्यवस्थापनका लागि अपनाइएको विधि, प्रक्रिया र विसर्जनसम्बन्धी विवरण माग गरेको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर काम नलाग्ने ब्याट्रीहरुको संकलन, भण्डारण, पुनः प्रयोग र अन्तिम विसर्जन विधिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
‘काठमाडौं महानगरपालिकाभित्र कार्य क्षेत्र भएका सवारीसाधनमा प्रयोग हुने ब्याट्रीका आयातकर्ता, बिक्रेता तथा प्रयोगकर्ताहरुले आफ्नो दायित्वमा रहेका काम नलाग्ने अवस्थाका ब्याट्रीहरुको संकलन, भण्डारण, पुनः प्रयोग र अन्तिम विसर्जन विधिसम्बन्धी विवरण यस विभागमा उपलब्ध गराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।
सवारीसाधनमा प्रयोगपश्चात् काम नलाग्ने अवस्थाका ब्याट्रीहरुबाट निस्कने ठोस तथा तरल पदार्थ र ग्याँसले वातावरणीय अवस्थामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पुर्याउने विभागको ठहर छ ।
त्यसले वातावरणका लागि उपयोगी र लाभदायी वस्तुको नोक्सानी गरिरहेको भन्दै विभागले वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ को परिच्छेद ७ को दफा ५१ मा फोहोर व्यवस्थापनको दायित्वसम्बन्धी व्यवस्था रहेको स्मरण गराएको छ ।
उक्त व्यवस्था वा दायित्व पूरा नगर्नेहरुलाई सोही ऐनको दफा ५२ बमोजिम कानूनी सजाय तथा कारबाही हुने समेत सूचनामा जनाइएको छ ।