प्रहरीले सिरहाबाट कुख्यात भारतीय डाँकालाई पक्राउ गरेकाे छ । सिरहा नगरपालिका–१७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, सिराहका अनुसार उनलाई हिँजाे हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको घाइते अवस्थामा पक्राउ गरेको बताइएकाे छ । आरिफकाे नेपाल सहित भारतका विभिन्न स्थानमा उनी विरुद्ध डकैती, लुटपाट तथा संगठित अपराध मुद्दा दर्ता रहेकाे छ ।
२०८० जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखामा भएको लुटपाट घटनामा पनि उनी प्रतिवादी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् । उक्त शाखाबाट ५ जनाको हतियारधारी समूहले पेस्तोल देखाउँदै ३८ लाख लुटेको थियो ।
त्यस्तै २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आईएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई उनको साथबाट ९ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
सिरहा प्रहरीका अनुसार भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको समेत बताइएकाे छ ।