ठूला पार्टी नेपाली कांग्रेस, एमाले र एमाओवादी। कांग्रेस प्रतिपक्षीमा छ, एमाले र एमाओवादी सत्तामा छन्। यी तिनै ठूला पार्टी नेताहरुको मुहार हँसिलो रसिलो, खाइखाँदै देखिन्छ। सत्तारसले यिनको अनुहार उज्यालो भएको हो।
राष्ट्रपतिमा विद्या भण्डारी र सभामुखमा ओनसरी घर्ती यी दुवै एमाले र एमाओवादीका नेतृ हुन्। यिनको भूमिका बदलिएकोमात्र हो। यी दुबै आमास्वरुपका महिला पनि रातोपिरो देखिन्छन्। यिनको मुहारमा रत्तिभर पनि कुनै चिन्ता र पीडा का रेखाहरु देखिदैनन्।
अर्थात्, देशको खराव हालत, जनताको चिन्ताजनक स्थितिमा पनि ठूला पार्टी सत्ताधारी नेता, नेतृहरु खुशी छन्। मानौं, यिनलाई देशको जिम्मेवारीबोध नै छैन।
संसदमा ६ सय १ सभासद छन्। यी सभासद भनेका जनता, देशका प्रतिनिधि हुन्। जनताका प्रतिनिधिहरु निर्वाचन क्षेत्रमा समेत जाँदैनन् भने जनताका घरदैलोमा पुग्ने सवालै भएन। बरु सातसमुद्रपारीबाट बेलायतका राजकुमार ह्यारी नेपालको भ्रमणमा आए, डोको बोके, घन हाने, ढुंगा फुटाए, स्कूल निर्माणमा श्रमदान गरे। नेपालका नेता, नेतृहरुले त्यस्तो परिश्रम र जनताप्रति चासो लिएको कुनै उदाहरण छ? छैन। किन छैन भने नेताहरु आफूलाई मालिक सम्भि्कन्छन्, जनतालाई रैती। पञ्चायतमा राजा र जनता भनिन्थ्यो, बहुदल आएपछि जनता होइन, नागरिक भनियो। लोकतन्त्र आएपछि जनताबाट नागरिक भएका लोक कहाँ छन्, कस्तो हालतमा छन्? कुन आपतविपतमा छन्? तिनको बास छ कि छैन, तिनको गाँस छ कि छैन, तिनको चुलो बलेको छ कि छैन? तिनले पानी पिउन किन पाएनन्? तिनीहरु किन अँध्यारोमा बस्न बाध्य छन्? किन लोकको काम घूस नख्वाई, दलाल नलगाई हुन्न? सिंहदरवारबाट पठाएको बजेट लोकसम्म पुग्दा किन थोपा थोपामा सिमित हुन्छ? किन युवाहरु निराश भएर विदेशिने दौडमा छन्? न नेता, नेतृ, न सरकार, न संसदलाई नै मतलव छ।
लोकतन्त्रको संसदमा लोकका सार्वजनिक महत्वका विषयमा कहिल्यै प्रस्ताव गयो, छलफल भयो? छैन। किन छैन भने लोक मौन छन्, चुपचाप छन् र नेता नेतृरु लोकको आँखामा आँसु देखेर पनि कुनै जिम्मेवारीवोध नै गर्दैनन्।
त्यसैले लोकका आँखाबाट निरन्तर आँसु बगिरहेका छन्। मौन आँसु। र, नेता, नेतृहरु साह्र्र्रै खुशी छन्, हाँसिररहेका छन्। कुनै पीर छैन यिनलाई।
लोकतन्त्र त आयो, नेतालाई मात्र। लोकतन्त्रको उज्यालो लोकको मुहारसम्म पुग्न सकेन। कहिले पुग्ला? र, जनताले यसैगरी खुशीसाथ हाँस्ने लोकतन्त्र कहिले आउला?