वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गरिने भएको छ । वैदेशिक रोजगार विभागलेयहि पुस ३ गतेपछि उक्त प्रणाली लागु गर्ने भएको हो ।
यसअघि वैदेशिक रोजगार विभागले पटक पटक सूचना जारी गर्दै स्थगित गर्दै आएकोमा अहिले अन्तिम पटक मिति तोकेको हो । उक्त मितिमा जसरी पनि आईरिस सिस्टम लागू गर्ने विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ । बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको बताइएको छ ।
विभागले गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताउदै आएको थियो । तर, उक्त मितिमा लागू हुन सकेको थिएन भने विभागले अहिले आईरिस र बायोमेट्रिक दुवै सिस्टम लागू भइरहेको जनाएको छ ।