नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको अग्रता कायमै रहेको छ । निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार १ सय ४४ मतको फराकिलो अन्तरले पछि पर्दै अग्रता बनाएकि शर्माको जित लगभग निश्चित भैसकेको छ ।
मधेस प्रदेश बाहेक अन्य सबै प्रदेशको मतगणना सकिदा उनले रमेश विष्टलाई फराकिलो अन्तरले पछि पारेकी हुन् । मधेस प्रदेशमा जम्मा ७७२ मत खसेको छ जुन शर्माको अग्रताभन्दा कम भएकाले शर्माको जित निश्चित भएको देखिन्छ ।
पछिल्लो मत परिणामअनुसार शर्माले ३ हजार ९ सय ७३ मत प्राप्त गरेकी छिन् भने विष्टले २ हजार ८ सय २९ मत पाएका छन् । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार हुन् ।
शर्माको प्यानलले अन्य पदहरूमा पनि अग्रता लिएको बताइएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाललगायतका उम्मेदवारहरूको पनि अग्रता कायम छ । तर, अन्तिम मत परिणाम भने आईसकेको छैन ।