Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

सम्पूर्ण नर्स र स्वास्थ्यकर्मीको सेवासुविधा सरकारीसरह लागू गर्न निर्देशन

२८ शुक्रबार , मंसिर २०८१९ दिन अगाडि

सम्पूर्ण नर्स र स्वास्थ्यकर्मीको सेवासुविधा सरकारीसरह लागू गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै नर्सिङ एवम् स्वास्थ्यकर्मीहरुको न्यूनतम पारिश्रमिक र सुविधा सरकारीसरह लागू गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार देशभरका सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज तथा सामुदायिक र निजी अस्पताललाई पत्र पठाउँदै यस्तो निर्देशन दिइएको हो ।

मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ एवम् अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिकलगायत सुविधामा अन्याय भएको गुनासो आएपछि मन्त्रालयले सरकारीसरह नघट्ने गरी लागू गर्ने निर्णय गरेको जनाएको छ ।

मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न, नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बैंकिङ्ग प्रणालीमा मात्र उपलब्ध गराउन पनि भनेको छ ।

त्यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाउने र सक्कल शैक्षिक लब्धांक पत्रहरु कार्यालयले राख्न नपाउने एवम् अनुभवको पत्र प्रदान गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

तोकिएको न्यूनतम पारिश्रमिक नपाएमा जानकारी गराउन पनि आग्रह गरिएको छ । मन्त्रालयको ह्वाट्सएप नम्बर ९८५१३३०५९२, फेसबुक, ट्विटर र इमेलमा जानकारी गराउन सकिनेछ ।

विज्ञप्तिमा उल्लेख छ, ‘स्वास्थ्यकर्मीलाई तोकिएको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनु र स्वयंसेवकका रूपमा काम नलगाउनु भन्ने निर्णय भएकोले यस मन्त्रालय सबै सम्बन्धित स्वास्थ्य संस्थालाई उक्त निर्णयको पालना गर्न गराउन र सोको कार्यान्वयनबारे जानकारी मन्त्रालयलाई उपलब्ध गराउन अनुरोध गर्दछ ।’