चालु आर्थिक वर्षको प्रथम ४ महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ४ महिनामा उक्त उक्त परिमाणमा डिजेल आयात घटेको हो ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको भन्सार कार्यालयले जनाएको छ । आव २०८१/८२ को ४ महिनामा २१ अर्ब ८४ करोड ८ लाख ७६ हजारको २ लाख ४६ हजार ७ सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात गरिएको थियो ।
पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताएका छन् । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।
त्यस्तै चालु आवको ४ महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात गरिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको १ लाख २९ हजार १ सय २६ किलोलिटर पेट्रोल आयात भएको बताइएको छ ।