आज राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रमुख आयुक्त ड. सुरेशप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यसैगरि प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका थिए । बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा उनिहरूले सपथ लिएका हुन् ।
उक्त सपथ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो । शपथपछि शुभकामना दिंदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।
त्यसैगरि असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने पनि प्रधानमन्त्री ओलीकाे भनाइ रहेकाे थियाे । उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा समेत जोड दिएका छन् ।