कीर्तिपुर नगरपालिकाले मंसीर २५ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले सातगाउँले (न्हेगाँ) जात्रामा मङ्गलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने भएको हाे ।
कीर्तिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार नगर कार्यपालिकाको आइतबार बसेको बैठकले बिदा दिने निर्णय गरेको थियाे । उक्त नगरपालिकाकाे सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुने र साे क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ ।
त्यस्तै चन्द्रागिरि नगरपालिका–१५ बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेकाे छ । काठमाडौँको पश्चिमी भेगका सातगाउँका शक्ति पीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिने परम्परा रहेकाे छ ।
सातगाउँले जात्रा स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भइसकेको छ ।