कैदीबन्दीको चाप बढेपछि चितवन कारागारले केही कैदीबन्दी लाई अन्यत्र स्थानान्तरण गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरेको हो ।
यसअघि साउनमा १६, असोजमा एक र मङ्सिरमा ७९ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी गराएका छन् । जसअनुसार साउनमा ८ जनालाई रसुवा, १ जनालाई गोरखा, १ जनालाई तनहुँ र ६ जनालाई केन्द्रीय कारागार काठमाडौँ पठाइएको बताइएको छ ।
त्यसैगरी मंसिरमा स्थानान्तरण गरिएका ७९ कैदीबन्दीलाई नुवाकोट कारागार पठाइएको प्रमुख आचार्यले जानकारी दिएका छन् । स्थानान्तरण गर्नुअघि चितवन कारागारमा ८ सय १९ कैदीबन्दी रहेका थिए ।
चितवन कारागारमा ७ सय ७२ पुरुष र ४७ महिला कैदीबन्दी रहेका थिए । मंसिरमा स्थानान्तरण गरिएकामध्ये दुई महिला र ७७ पुरुष रहेका छन् भने अहिले कारागार कार्यालयमा ७०३ पुरुष र ५३ महिला गरि ७ सय ५६ कैदीबन्दी छन् । उनीहरूसँग आश्रित तीन बालबालिका रहेका छन् ।
चितवन कारागारको क्षमता २ सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको छ । चितवन कारागारमा न्यायिक तथा अर्धन्यायिक निकायबाट आउने कैदी तथा बन्दीको सङ्ख्याभन्दा कैद म्याद सकिनेको सङ्ख्या कम भएकाले स्थानान्तरण गर्न बाध्य भएको प्रमुख आचार्यले बताएका छन् ।