अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई अपाङ्गतामैत्री शहर बनाउने प्रतिबद्धता गरेका छन् । प्रमुख महर्जनले महानगरपालिकाद्वारा जावलाखेलमा आयोजित कार्यक्रममा अपाङ्गतामैत्री पूर्वाधार निर्माण, सूचना प्रवाह र सेवा प्रवाहमा ध्यान दिएको बताउँदै ललितपुरलाई अपाङ्गतामैत्री शहर बनाउने प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा प्रमुख महर्जनले यसको सुरूआत गरिरहेकाेमा अरू स्थानीय तहले समेत उक्त कामकाे फलो गरिरहेकाे बताएका थिए । उनले हाल एकान्तकुनामा लिप्टसहितको अपाङ्गतामैत्री पुल बन्दै गरेकाे र धोबिघाटबाट कीर्तिपुर जाने पुल पनि अपाङ्गतामैत्री हुने बताए । हाल निर्माण गरिएका सबै संरचना अपाङ्गतामैत्री बनाएकाे र अपाङ्गतामैत्री फुटपाथलगायत संरचना निर्माण गर्ने पहिलो स्थानीय तह ललितपुर महानगरपालिकाका रहेकाे समेत प्रमुख महर्जनकाे भनाइ रहेकाे थियाे ।
उनले अपाङ्गतामैत्री पूर्वाधारका साथै प्रविधिको विकासका लागि संघीय सरकार, प्रदेश सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग हातेमालो गरेर अगाडि बढ्ने बताएका छन् । त्यस्तै कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपाङ्गताको जीवन जीउनु रहर नभई बाध्यता भएको बताउँदै बाध्यताका कष्टकर जीवनयापन गरिरहेकालाई सहयोग गर्नु र माया गर्नु कर्तव्य र दायित्व रहेको बताइन् ।