भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतीय समकक्षी हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । उनीहरुबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
सोमबार अपराह्न उनिहरूबीच भेटवार्ता भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । भेटवार्तामा नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको बताइएको छ ।
उनिहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका छन् । त्यस्तै द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएको समेत उल्लेख गरिएको छ ।
भेटमा सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको र दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताएका छन् । त्यस्तै, भारतीय पक्षले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।