Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

पुस पहिलो सातादेखि हेटौँडा सिमेन्ट उत्पादन सुरु हुने

१७ सोमबार , मंसिर २०८१२१ दिन अगाडि

पुस पहिलो सातादेखि हेटौँडा सिमेन्ट उत्पादन सुरु हुने

आगामी पुसको पहिलो सातादेखि हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले पुनः सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उपकरणहरू मर्मतको काम नसकिँदा मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने तयारी रहेपनि पुसको पहिलो सातादेखि मात्रै सिमेन्ट उत्पादन सुरु गर्ने भएको हो ।

अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीको भनाई रहेको छ । भण्डारीका अनुसार उपकरणहरूको मर्मत कार्य सम्पन्न हुने बित्तिकै पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको बताइएको छ ।

यसअघि उद्योग व्यवस्थापनले असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेकाले छिटै उत्पादन सुरु गर्ने तयारी भएको जानकारी दिएका छन् ।  

आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । गत भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

वि.सं. २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।