किर्तिपुर क्रिकेट रंगशालामा चालु नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गुर्खाजलाई हराउदै चितवन राइनोज विजयी भएको छ । काठमाडौँ गुर्खाजविरुद्ध चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको आजको खेलमा राइनोज विजयी भएको हो । काठमाडौं गुर्खाजले दिएको ११२ रनको सामान्य लक्ष्य चितवन राइनोजले १७.१ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो
चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् भने यु-१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी रहेका थिए ।
काठमाडौँ गुर्खाजमा ५ जना विदेशी खेलाडी छन् । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहेका छन् ।
त्यसैगरी चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल छन् भने मल्लसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव रहेको छ । चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् ।
त्यस्तै राइनोजको विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलगायतका खेलाडीहरुले यसैटोलीबाट खेल्दैछन् ।