Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै

१७ सोमबार , मंसिर २०८१एक बर्ष अगाडि

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनकाे बेइजिङ प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आज मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्ने बताइएकाे छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने भ्रमण तालिकामा रहेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्ने समेत कार्यक्रममा रहेकाे छ ।

बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ भने प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहनेछन् ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायतका रहेका छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ ।