आज विविध कार्यक्रम सहित ३७ औँ विश्व एड्स दिवस मनाइँदै छ । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ चेतना जागृत गर्ने विविध कार्यक्रमका सहित ३७ औँ विश्व एड्स दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आयोजनामा चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ भने नेपालमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सर्वेश शर्माको भनाई रहेको छ ।
त्यस्तै एड्सबाट मृत्यु हुनेको सङ्ख्या आधाले घटेको छ । एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा नेपाल पनि एक हो भने यस्तै सफलता केन्या, मलावी र जिम्बावेले पनि हासिल गरेको केन्द्रले जनाएको छ ।
एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि हुने देशमा अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरब रहेका छन् । सन् २०१० देखि २०२३ को बीचमा उक्त देशहरुमा शतप्रतिशत सङ्क्रमण वृद्धि भएको बताइएको छ ।