त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट १ किलो भन्दाबढी सुनसहित एक जना पक्राउ परेका छन् । उक्त सुनसहित चितवनका आशिष सुवेदी पक्राउ परेका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार १ किलो १ सय ग्राम सुनसहित सुवेदीलाई पक्राउ गरिएकाे हाे । उक्त परिमाणका सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएकाे छ ।
युएईबाट एयर अरेबियाको फ्लाइट हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका र उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।