Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

तापक्रम निरन्तर घटेसँगै जाडाे बढ्याे

१२ बुधबार , मंसिर २०८१एक महिना अगाडि

तापक्रम निरन्तर घटेसँगै जाडाे बढ्याे

काठमाडौं उपत्यकालगायत देशभरकाे तापक्रम निरन्तर घटेसँगै जाडाे बढ्न थालेकाे छ । केहि दिनदेखी उपत्यकालगायत देशकाे विभिन्न स्थानकाे तापक्रम निरन्तर घट्न थालेपछि जाडाे बढेकाे हाे ।

काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजे मापन गरिएकाे न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेकाे छ । हिजाे मंगलबार भने काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको थियो । जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा तापक्रम घट्ने क्रम अझै जारी रहने भएकाले चिसोबाट जोगिन आवश्यक पूर्वतयारीका काम गर्न समेत अनुरोध गरेकाे छ ।

विगतको औसत तापक्रमसँग तुलना गर्ने हो भने अहिलेकाे तापक्रम सामान्य नै हाे तर जाडो क्रमशः बढ्दै गइरहेकाले सतर्कता अपनाउन जरूरी रहेकाे मौसमविदहरूकाे भनाइ रहेकाे छ । अहिले स्थिर खालको वायुमण्डल भएकाले तराई मधेश र पहाडी भेगमा हुस्सु लाग्ने र त्यो केहीबेरसम्म रहीरहने गरेको पनि मौसमविदहरूले बताएका छन् ।

आज बिहान पनि काठमाडौं उपत्यका, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको र काठमाडौंमा हुस्सु लागे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण भने सामान्य रहेकाे बताइएकाे छ । साथै, अहिले काठमाडौं विमानस्थलको भिजिबिलिटी ४ हजार ५०० मिटर रहेको छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५

अहिले सबैभन्दा चिसो जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ पुगेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै जोमसोममा शून्य, जिरीमा ४.७, डडेलधुरामा ७.३, ओखलढुंगामा ७.६ र ताप्लेजुङमा ८.२ डिग्री सेल्सियस मापन गरिएकाे महाशाखाले जानकारी दिएकाे छ । महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे र एक-दुई दिन काठमाडौं उपत्यकामा वर्षाको सम्भावना नरहेकाे बताइएकाे छ ।