आजदेखि ३३औँ अन्तर्राष्ट्रिय लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान सुरू हुने भएकाे छ । ‘हामी सबैको प्रतिबद्धता: लैंगीक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ आज नोभेम्बर २५ देखि १६ दिने अभियान सुरू हुन लागेकाे हाे ।
आजदेखि १६ दिनसम्म चल्ने अभियान महिला पुनः स्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले संयुक्त रूपमा आयोजना गरेको हाे । नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेकाे ओरेक नेपालकाे कार्यकारी निर्देशक सुनिता मैनालीले बताएकी छन् ।
नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे अभियानले ध्यानाकर्षण गराउने बताइएकाे छ । त्यसैगरि सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि सामुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायतमा अभियानले ध्यानाकर्षण गराउने छ ।
आजदेखि १६ दिने अभियानका क्रममा सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतीकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने समेत जनाइएको छ ।