पाँचवर्षदेखि विवाद टुङ्गो नलाग्दा नारायणी अस्पतालको भवन निर्माण अलपत्र बनेको छ । सर्वाेच्च अदालतमा भवन निर्माणसम्बन्धी मुद्दा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो ।
संघिय सरकारले आर्थिक वर्ष २०७५/७६ मा नारायणी अस्पताललाई ५ सय शै्यामा स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको भएपनि सर्वोच्चमा मुद्दा दायर भएपछि काम ठप्प भएको हो । सर्वाेच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका लागि निर्धारण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
वीरगञ्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रालि/नेसनल डेभलपमेन्ट इञ्जिनियरिङबीचको विवाद सर्वोच्च पुगेको र भवन निर्माण अलपत्र बनेकाले अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण गर्न सर्वोच्चमा अनुरोध गरिने पनि डा.दासले बताए ।