आजदेखि धरहरा चढ्न शुल्क निर्धारण गरिएकाे छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हाे ।
सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हाे । जसअनुसार धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ ।
धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिलाई लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइने बताइएकाे छ । त्यसैगरि सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ,सार्कबाहेकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएकाे छ ।
धरहरा चढ्न शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको र उक्त प्रस्ताव स्वीकृत भएसँगै धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जानकारी गरएकाे छ ।