राहदानी सेवा सोमबारसम्मका लागि बन्द भएको छ । विद्युतीय प्रणालीमा समस्या आएपछि हिजोदेखि अवरुद्ध पासपोर्ट सेवा राहदानी विभागले आज सूचना जारी गर्दै सुचारु गर्न नसकिएको जानकारी गराएको छ ।
विभागले मंसिर १० गते सोमबारसम्म सेवा पूर्ण रुपमा सुचारु गराउने प्रतिबद्धता जनाएको छ । विभागका अनुसार प्रणालीमा आएको उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार्यहरु भइरहेको छ । यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्षसहित आइतबारसम्म थप जानकारी गराउने विभागले बताएको छ ।
‘विद्युत राहदानी प्रणालीमा आएको उक्त समस्यलाई प्राविधिक समूहबाट समाधानका कार्यहरु भइरहेको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मिति २०८१–०८–०९ गतेसम्ममा थप जानकारी गराउन सकिने व्यहोरा अनुरोध छ । यस विभाग प्रणालीमा आएको समस्या समाधान गरी मिति २०८१–०८–१० गतेसम्म राहदानीको सेवा पूर्ण रुपमा सुचारु गराउन प्रयासरत छ,’ सूचनामा उल्लेख छ ।