पूर्वसभामुख दमननाथ ढुंगानाको हिजो ८३ वर्षको उमेरमा निधन भएपछि सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले आज सरकारी कार्यालय तथा नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने र देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । कलेजोसम्बन्धी समस्याका कारण उपचार गराई रहेका ढुंगानाको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।
बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म ढुंगानाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिनेछ । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेता तथा समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूले सहभागी हुनेछन् ।
श्रद्धाञ्जली पछि ढुंगानाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।