Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

आजदेखि छिर्कने-देउराली सडकखण्ड २० दिन बन्द

०३ सोमबार , मंसिर २०८१एक महिना अगाडि

आजदेखि छिर्कने-देउराली सडकखण्ड २० दिन बन्द

आजदेखि तनहुँको व्यास नगरपालिका–१२ छिर्कने-देउराली सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडकखण्ड २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको हो ।

पृथ्वी राजमार्गको निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने-देउराली सडकखण्डमा काम तीव्र पार्न मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको बताइएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने छ ।

जसअनुसार सोमबार राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्णरूपमा बन्द गरी सडक निर्माण गरिने छ भने राति १ बजेदेखि साढे १ बजेसम्म सडकमा सवारी आवागमन खुला गरिने बताइएको छ । त्यस्तै दोस्रो चरणमा राति साढे १ बजेबाट बिहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने र आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराउने इन्जिनियर पाण्डेले जानकारी दिएका छन् ।

यो अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न आग्रह गरिएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत काम सक्किएको छ ।

पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएको र दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पनि इन्जिनियर पाण्डेले जानकारी दिएका छन् । त्यस्तै व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीको पुलको काम ४५ प्रतिशत सकिएको छ । चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाएको पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गते काम शुरु गरेकोमा र हाल ६८ प्रतिशत सकिएको छ ।